Close

    26.06.2026 : माननीय राज्यपाल श्री ओमप्रकाश माथुरले असार १५ को पावन अवसरमा सम्पूर्ण सिक्किमवासी तथा कृषक समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

    Publish Date : June 29, 2026

    माननीय राज्यपाल श्री ओमप्रकाश माथुरले असार १५ को पावन अवसरमा सम्पूर्ण सिक्किमवासी तथा कृषक समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

    आफ्नो सन्देशमा माननीय राज्यपालले भन्नुभयो, “असार १५ हाम्रो कृषकहरूको श्रम, समर्पण र जीवन्त संस्कृतिको प्रतीकात्मक दिन हो। खेतबारीमा हिलो खेल्दै धान रोप्ने परम्परा केवल कृषि कार्य मात्र होइन, यो हाम्रो सामूहिकता, सामाजिक सद्भावना र प्रकृतिप्रतिको सम्मानको अभिव्यक्ति पनि हो। यस दिन दही–चिउरा खाने परम्पराले हाम्रो मौलिक संस्कृतिलाई अझ सुदृढ बनाउँदै आएको छ।
    कृषि हाम्रो अर्थतन्त्रको मुख्य खम्बा हो। खाद्य सुरक्षा सुनिश्चित गर्न, ग्रामीण जीवनलाई बलियो बनाउन र आत्मनिर्भर समाज निर्माण गर्न हाम्रा किसानहरूको योगदान अद्वितीय छ। उहाँहरूको अथक मिहिनेतले नै हाम्रो जीवनलाई सुरक्षित, समृद्ध र दिगो बनाएको छ।
    त्यसैले, आउनुहोस्, वर्तमान समयको आवश्यकतालाई बुझ्दै हामी सबै मिलेर कृषकहरूको अझ बढ़ी सम्मान गरौँ, आधुनिक प्रविधिलाई आत्मसात गरौँ, जैविक खेतीलाई प्रोत्साहन गरौँ र एउटा
    दिगो कृषि प्रणालीको विकासमा एकजुट भएर अघि बढ्दै सुनौलो, समर्थ अनि समृद्ध सिक्किम निर्माणको दृढ सङ्कल्पका साथ ‘विकसित भारत @2047’ को सपना साकार गर्ने अठोट गरौँ।

    असार १५ ले हामी सबैलाई कृषि, प्रकृति र संस्कृतिप्रति अझ बढी जिम्मेवार बन्न प्रेरणा दिनेछ भन्ने विश्वासको साथमा उहाँहरूको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।