13.07.2026 : सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुरले भानु जयन्तीको अवसरमा राज्यवासी लगायत सम्पूर्ण नेपाली भाषा प्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।
सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुरले भानु जयन्तीको अवसरमा राज्यवासी लगायत सम्पूर्ण नेपाली भाषा प्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।
आफ्नो सन्देशमा माननीय राज्यपालले भन्नुभयो, “२१२औँ भानु जयन्तीको पावन अवसरमा म सिक्किमवासी लगायत सम्पूर्ण नेपाली भाषा प्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई समृद्ध बनाउँदै आम जनमानसलाई एकताको सूत्रमा बाँध्ने जुन ऐतिहासिक कार्य गर्नुभयो, त्यो हाम्रा लागि सदैव प्रेरणाको स्रोत हो।
विभिन्न जाति, भाषा र संस्कृतिहरूको सुन्दर सङ्गम रहेको हाम्रो देश भारतमा आफ्नो मातृभाषा र संस्कृतिको संरक्षण गर्नु हाम्रो कर्तव्य मात्र न रहेर भावी पुस्ताका लागि एक सशक्त पहिचान निर्माण गर्ने उत्तरदायित्व पनि हो।
भाषा र संस्कृति नै मानव सभ्यताका मूल आधार स्तम्भ र समाज एवं राष्ट्रका पहिचान हुन्। भाषा अभिव्यक्ति र संवादको माध्यम हो भने संस्कृति हाम्रो पहिचान, भावना, विचार र सदियौँको जीवन पद्धतिको जीवन्त रूप हो। यसले हाम्रा रीतिरिवाज र मूल्य-मान्यताहरूलाई पुस्तान्तरण गर्ने महत्त्वपूर्ण कार्य गर्दछ।
यस अवसरमा आउनुहोस्, हामी सबै मिली आदिकवि भानुभक्त आचार्यज्यूको योगदानलाई स्मरण गर्दै आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्ने संकल्प गरौँ।
पुनः सम्पूर्णमा २१२औँ भानु जयन्तीको हार्दिक मङ्गलमय शुभकामना।